FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको इतिहासमा कीर्तिपुर एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते तत्कालिन आठ गा.वि.स. हरु (लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी) गाभेर नगरपालिका ऐन, २०४८ अनुसार गठन भएको हो । मल्ल कालदेखि नै कला र संस्कृतिले धनी यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

कीर्तिपुर शहर व्यावसायिक रुपले भन्ने हो भने विभिन्न औद्योगिक कलकारखानाको साथै सडक यातायत, बजारको व्यवस्था, खानेपानी, विजुली, सञ्चारका साथै नेपालकै सबै भन्दा पुरानो शिक्षण संस्था त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा पर्दछ । कीर्तिपुर शहरको उत्तरमा काठमाडौं महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा वागमती नदी र ललितपुर महानगरपालिका, पश्चिममा चन्द्रागिरी नगरपालिका पर्दछ । यस कीर्तिपुर नगरपालिकाको कूल क्षेत्रफल १४.७६ वर्ग कि.मी. छ भने २०७८ सालको राष्ट्रिय जनगणना अनुसार कीर्तिपुरको कूल जनसंख्या ८१५७८ जना छन् भने जसमा पुरुषको संख्या ४३२३६ (५३ प्रतिशत) र महिलाको संख्या ३८३४२ जना (४७ प्रतिशत) रहेको छ । कीर्तिपुर नगरमा कीर्तिपुर लगायत पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँङ्गला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँ बजार र भत्क्यापाटी आदी प्रमुख स्थान रहेका छन् । यस शहरको अधिकांश भाग कृषि क्षेत्र र जंगलले ढाकेको छ । यस नगरमा सडक तथा गल्लीहरुको स्थितिका बारेमा भन्ने हो भने उल्लेखनिय विकास भएको पाईदैन । जसमा कालो पत्रे सडक ३५ कि.मी., ग्राभेल सडक ४० कि.मि., कच्ची सडक ३५ कि.मी. रहेको छ । कीर्तिपुर नगरपालिकाले काठमाण्डौ रिङ्गरोडलाई उत्तर पट्टी छोएको छ भने दक्षिणकाली जानेमा एक किलोमिटर भन्दा पनि कम फरकमा रहेको छ ।  बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसाँस्कृतिक सम्पदाले भरिपुर्ण यस नगरपालिका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धरोहरले सम्पन्न छ । यहाँका बासिन्दा सबै भन्दा बढि कृषि पेशामा निर्भर रहेको देखिएता पनि अधिकांश ज्याला मजदूरीका अलावा घरेलु उद्योग, पसल-व्यवसाय आदि सञ्चालन गरी जिविकोपार्जन गर्दै आईरहेको पाईन्छ । यो नगर खुल्ला दिसामुक्त, पुर्ण साक्षर र पुर्णखोपयुक्त घोषणा भईसकेको नगरपालिका हो ।